Logo

विश्व

अस्ट्रेलियाको २०३५ सम्म ६२–७० प्रतिशत उत्सर्जन कटौती लक्ष्य



मेलबर्न । अस्ट्रेलियाले सन् २०३५ सम्ममा सन् २००५ को स्तरभन्दा ६२ देखि ७० प्रतिशतसम्म हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले उक्त लक्ष्यलाई आगामी संयुक्त राष्ट्रसंघीय महासभामा प्रस्तुत गर्ने तयारी गरेका छन्। उनले यसलाई विज्ञानमा आधारित, व्यावहारिक र प्रमाणित प्रविधिमा निर्मित योजनामा आधारित जिम्मेवार लक्ष्य भएको बताएका छन्। यो लक्ष्य सन् २०३० सम्म ४३ प्रतिशत उत्सर्जन कटौती र सन् २०५० सम्म शुद्ध–शून्य उत्सर्जनको अस्ट्रेलियाको प्रतिबद्धतासँग जोडिएको छ।

जलवायु परिवर्तन प्राधिकरणका अध्यक्ष म्याट किनले अस्ट्रेलियाको लक्ष्यलाई धेरै उन्नत अर्थतन्त्रहरूभन्दा महत्त्वाकांक्षी भएको बताएका छन्। अल्बानिजका अनुसार यो कदम वातावरण, अर्थतन्त्र, रोजगारी र भावी पुस्ताको हितमा हुनेछ।

तर यसबारे मिश्रित प्रतिक्रिया आएको छ। वातावरणीय समूहहरूले ७० प्रतिशतभन्दा माथिको कटौतीको माग गरेका छन् भने व्यावसायिक निकायहरूले यसले अर्बौं डलरको निर्यात जोखिममा पार्ने चेतावनी दिएका छन्। अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख एन्ड्र्यु म्याककेल्लरले ऊर्जा लागत, सुरक्षा र किफायतीपनलाई प्रमुख चुनौतीको रूपमा औँल्याएका छन्।

कन्जर्भेटिभ विपक्षी लिबरल पार्टीले सरकार सन् २०३० को लक्ष्य नै पूरा गर्न असफल भएको दाबी गर्दै २०३५ को लक्ष्यलाई ‘काल्पनिक’ भनेको छ। ग्रिन्स नेत्री लारिसा वाटर्सले ६२ प्रतिशत कटौती मात्र हुने भए यो भयावह रूपमा कम हुने आरोप लगाइन्।

सरकारले भने अस्ट्रेलिया सन् २०३० को लक्ष्य हासिल गर्ने बाटोमै रहेको र २०३५ को लक्ष्य व्यावहारिक रूपमा सम्भव हुने दाबी गरेको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  २ : ०५ बजे