काठमाडौं । चीनले जापानमा तैनाथ गरिएको अमेरिकी टाइफुन मिसाइल प्रणाली हटाउन चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले जापानसँग मिलेर संयुक्त सैन्य अभ्यासको नाममा मिड–रेन्ज टाइफुन मिसाइल प्रणाली तैनाथ गरी चीनको सुरक्षामा गम्भीर खतरा सिर्जना गरेको आरोप लगाए ।
लिनका अनुसार उक्त मिसाइल प्रणालीले दुई हजार किलोमिटरसम्म टम हक मिसाइल प्रहार गर्न सक्ने क्षमता राख्छ, जसले दक्षिण चीन सागर, ताइवान स्ट्रेट र चीनका दक्षिणी भूभागसम्म निसाना बनाउन सक्छ । उनले यसले एशियामा हतियार दौड र सैन्य टकरावको जोखिम बढाउने चेतावनी दिए ।
मिडिया रिपोर्टअनुसार यो मिसाइल प्रणाली जापानमा १६ देखि २५ सेप्टेम्बरसम्म चलिरहेको संयुक्त अमेरिकी–जापानी सैन्य अभ्यास ‘रेजोलुट ड्रयागन’का लागि तैनाथ गरिएको हो । उक्त अभ्यासमा १९ हजारभन्दा बढी अमेरिकी र जापानी सैनिक सहभागी छन् ।
जापानले चीन, उत्तर कोरिया र रूसबाट आउने सम्भावित मिसाइल धम्कीलाई सामना गर्न मिड–टु–लङ रेन्ज क्षमतामा ध्यान केन्द्रित गरिरहेको छ । अमेरिकाको टाइफुन प्रणालीले जापान–ताइवान–फिलिपिन्ससम्मको ‘फर्स्ट आइल्यान्ड चेन’ रक्षा रेखालाई बलियो बनाउने बताइन्छ ।
यसअघि अमेरिकाले यो प्रणाली फिलिपिन्समा पनि तैनाथ गरेको थियो । चीनले त्यतिबेला पनि आपत्ति जनाएको थियो ।
प्रतिक्रिया