Logo

मुख्य समाचार

टेन्ट टाँगेर सेवा दिँदै भैरहवा भन्सार कार्यालय



रुपन्देही — ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भइसकेको भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सेवा सुरु गरेको छ।

भन्सार अधिकृत तथा सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार शनिबार (भदौ २७) देखि कार्यालय परिसरमै टेन्ट राखी सेवाग्राहीलाई काम भइरहेको छ। भदौ २३ र २४ गतेको प्रदर्शनमा कार्यालयको दुईतले प्रमुख प्रशासकीय भवनमा तोडफोड र आगजनी हुँदा भवन, फर्निचर, कम्प्युटर र कागजात जलेर नष्ट भएका थिए। यात्रु शाखा पूर्ण रूपमा जलेको र कार्यालयमा रहेको बैंक शाखामा समेत क्षति पुगेको प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार प्राथमिकता निर्धारण गरी वस्तुहरूको जाँचपास सुरु गरिएको छ। शुक्रबार मात्रै २८२ वटा गाडी जाँचपास गरिएको थियो। कर्मचारीहरूले टेन्टमुनी बसेर ल्यापटपमार्फत सेवा दिइरहेको नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले बताए।

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा एक खर्ब १३ अर्ब राजस्व संकलनको लक्ष्य पाएको छ। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नेपालको प्रमुख भन्सार नाका हो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ४ : ०८ बजे