Logo

मुख्य समाचार

मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे



पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प रहेको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएका संवाद पहललाई गण्डकी प्रदेश सरकार स्वागत गर्ने भन्दै उनले संवाद र एकताबाट मात्र विकल्प रहेको बताएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक  दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।’

उनले युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको पनि बताए ।

मुख्यमन्त्री पाण्डेले आन्दोलनमा भएका आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक रहेको बताए ।

‘भदौ २३ को अत्यधिक बल प्रयोग र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक छ भन्नेमा म दृढ छु । शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ रहेको भन्दै यसलाई अझ बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्ने समेत बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  १ : ३६ बजे