Logo

मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित



काठमाडौं । केही दिनदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बुधबार साँझदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान विगतझैँ सामान्य रूपमा भइरहेका छन्। यात्रु आवागमनलाई सहज बनाउन सुरक्षा निकायसँग समन्वय गरिएको उनले बताए।

भदौ २४ गते ‘जेनजी’ पुस्तासम्बन्धी विषम परिस्थिति उत्पन्न भएपछि विमानस्थल बन्द गरिएको थियो। तर, विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि उडान पुनः सञ्चालन गरिएको हो।

विमानस्थलले हालको तालिकाभन्दा थप उडान गर्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा सञ्चालन हुने जनाएको छ। यात्रुलाई परिचय खुल्ने कागजात र आधिकारिक टिकटसहित विमानस्थल आउन आग्रह गरिएको छ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबीच यात्रुहरूको आवतजावत सहज बनाउन विशेष व्यवस्था मिलाइएको छ। नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकलाई गन्तव्यसम्म पुर्याउन सटल बसको व्यवस्था गरेको छ भने वायुसेवा कम्पनीहरूले आफ्ना यात्रुलाई विभिन्न विकल्प उपलब्ध गराइरहेका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, भदौ २६ देखि नियमित उडान जारी रहने छ। पछिल्ला दुई–तीन दिनदेखि रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा गन्तव्यमा लैजाने तयारी भएको उनले बताए।

त्रिभुवन विमानस्थल हुँदै दैनिक ३०० भन्दा बढी उडान हुने गर्छ, जसमा २५० आन्तरिक र करिब १०० अन्तर्राष्ट्रिय उडान पर्छन्। बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने विमानस्थलमा २१ आन्तरिक (१२ हेलिकोप्टरसहित) र ३० अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सक्रिय छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ११ : १२ बजे