काठमाडौं । नेपाली कांग्रेसले देश राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको भन्दै राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भएर शान्ति–सुरक्षा कायम गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार प्रेस नोट जारी गर्दै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको दु:खद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रदर्शनमा युवा र सुरक्षाकर्मीको ज्यान गुमाउनु परेकोमा महतले पीडा व्यक्त गर्दै घटना लोकतान्त्रिक विरोधको मान्यता विपरीत भएको बताए ।
महतका अनुसार २४ भदौको प्रदर्शनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर घटना हो । उनले यो घटना १० वर्षे माओवादी द्वन्द्वको समयमा भन्दा बढी क्षति पुर्याउने खालको भएको बताए ।
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । महतका अनुसार लोकतान्त्रिक प्रक्रियाको पुन:स्थापना र संरक्षणका लागि सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । साथै राष्ट्रपतिको नेतृत्वमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय सहभागिता जनाउने उल्लेख गरिएको छ ।
प्रतिक्रिया