रामेछाप । काठमाडौंमा सोमबार भएको ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनमा १९ जना प्रदर्शनकारीको ज्यान गएपछि त्यसको विरोधस्वरूप मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा पनि युवाहरु सडकमा उत्रिएका छन् ।
मंगलबार बिहान मन्थलीको देवकोटा चोकमा युवाहरु भेला भई प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा प्लेकार्डसहित नाराबाजी गर्दै निर्दोष युवामाथि भएको दमन र हत्या रोक्न माग गरेका छन् । साथै, प्रधानमन्त्रीले तत्काल पद त्याग गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।
राजधानीदेखि जिल्लासम्मका युवाले उठाएको आवाजलाई राज्यले सुन्नैपर्ने बताउँदै, दमन गरेर नागरिकलाई चुप राख्ने प्रयासले मुलुकलाई अझै संकटतर्फ धकेल्ने चेतावनी उनीहरुले दिएका छन् ।
उनीहरुले लोकतन्त्रमा प्रश्न सोध्नु, विरोध जनाउनु र सडकमा शान्तिपूर्ण प्रदर्शन गर्नु जनताको स्वाभाविक अधिकार भएको भन्दै त्यसलाई बल प्रयोग गरेर दवाउन खोजिएकोप्रति आपत्ति जनाएका छन् ।
मन्थलीमा गरिएको प्रदर्शनमा विद्यार्थी, स्थानीय युवा र विभिन्न पेशामा संलग्न व्यक्तिहरुको उपस्थिति थियो । आफूहरु शान्तपूर्ण प्रदर्शनको पक्षमा रहेको उनीहरुले बताएका छन् ।
काठमाडौंमा सोमबार भएको ‘जेनजी’ प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा १९ जनाको ज्यान जानुका साथै ठूलो संख्यामा सर्वसाधारण घाइते भएका थिए । त्यही घटनापछि मुलुकभरै विरोधको स्वर फैलिएको छ ।
प्रतिक्रिया