Logo

विश्व

थाइल्याण्डमा अनुतिन चार्नविराकुल नयाँ प्रधानमन्त्री निर्वाचित


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

ब्याङ्कक — थाइल्याण्डको संसदले भूमजैथाई पार्टीका नेता अनुतिन चार्नविराकुललाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। शुक्रबार भएको मतदानमा उनले ३११ मत पाए भने उनका प्रतिस्पर्धी फेउ थाई पार्टीका उम्मेदवार चाइकासेम नितिसिरी १५२ मतमा सीमित भए।

चार्नविराकुलले संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आधारमा बर्खास्त गरेकी पेटोङ्टार्न सिनावात्राको स्थान लिनेछन्। संसदको समर्थन उनले चार महिनाभित्र आम चुनाव गर्ने प्रतिबद्धताका आधारमा प्राप्त गरेका हुन्।

यससँगै शिनावात्रा परिवारले थप धक्का व्यहोरेको छ। परिवारका नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा सर्वोच्च अदालतको आगामी सुनुवाइका लागि फर्किने घोषणा गर्दै हालै दुबई प्रस्थान गरेका थिए।

चार्नविराकुललाई राजा महा वजिरालोङकोर्नले औपचारिक नियुक्ति गर्ने अपेक्षा गरिएको छ। नियुक्तिपछि उनले नेतृत्व गर्ने नयाँ सरकारले चाँडै पदभार ग्रहण गर्नेछ। फेउ थाई पार्टीले भने विपक्षमा बसेर पुनः सत्ता हासिल गर्ने संकल्प व्यक्त गरेको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ५९ बजे