इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा आफूलाई जेलभित्र आधारभूत सुविधा कटौती गरिएको आरोप लगाएका छन्।
रावलपिण्डीको अडियाला जेलमा रहेका ७२ वर्षीय खानले प्रहरी प्रमुखलाई लेखेको पत्रमार्फत कोठामा बत्ती नलगाइएको, परिवार र वकिलहरूसँग भेटघाटको अधिकार खोसिएको र बाहिरी सञ्चारमाध्यमहरू (टेलिभिजन तथा समाचारपत्र) बाट पूर्ण रूपमा अलग गरिएको उल्लेख गरेका छन्।
खानले मरियम नवाजसहित आठ जना जेल अधिकारीविरुद्ध एफआइआर दर्ता गर्न माग गरेका छन्। उनले प्रहरी चौकीका अधिकारीहरू जैनब र ऐजाजमाथि दुव्र्यवहार र उत्पीडनको आरोपसमेत लगाएका छन्।
उनले आफ्नी पत्नी बुशरा बीबीलाई पनि अमानवीय व्यवहार गरिएको र भेटघाट रोकिएको दाबी गरेका छन्। खानका अनुसार परिवारले पठाएका दर्जनौँ पुस्तकमध्ये चारवटा मात्र उपलब्ध गराइएको र चिकित्सकको पहुँचबाट समेत वञ्चित गरिएको छ।
खानले यसलाई आधारभूत मानवअधिकारको उल्लङ्घन भन्दै न्यायका लागि अपिल गरेका छन्। यो विषय पाकिस्तानको आन्तरिक राजनीतिक बहसमा प्रमुख मुद्दाका रूपमा उभिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ
प्रतिक्रिया