Logo

मुख्य समाचार

सर्वसम्मत विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सांसद साउदको जोड



काठमाडौं – नेपाली कांग्रेसका सांसद एनपी साउदले सरोकारवाला पक्षका असन्तुष्टिहरू सम्बोधन गरी मात्र सबैका लागि स्वीकार्य हुने गरी विद्यालय शिक्षा विधेयक, २०८० अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै साउदले शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव नहुने भन्दै सरकारलाई विधेयक निर्माणमा गम्भीर हुन आग्रह गरे।

साउदले भने, “सरकारले तत्काल देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरी सबैलाई स्वीकार्य हुने गरी विधेयक अगाडि बढाउन आवश्यक देखिन्छ। शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव हुँदैन। त्यसकारण यो विषयमा सरकार गम्भीर हुन जरूरी छ।”

सांसद साउदका अनुसार, विषयगत समितिले लामो समयको प्रतिक्षापछि विधेयकको प्रतिवेदन पारित गरेको छ। शिक्षा विधेयकले संघीय संरचनाअनुसार विद्यालय शिक्षालाई कानुनी रूपमा व्यवस्थित गर्दै आधारभूत शिक्षा सुनिश्चित गर्ने र निजी विद्यालय नियमन गर्ने प्रावधान समेटेको छ।

तर उनले भने कि विगतमा सरकारले गरेका सम्झौताहरूको बेवास्ता गर्दै विधेयक अगाडि बढाउँदा व्यापक असन्तुष्टि देखिएको छ। विशेषगरी, २० वर्षदेखि कार्यरत अस्थायी राहत, साविक उच्च मावि, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूको न्यायोचित व्यवस्थापनको दायित्वबाट सरकार पन्छिन खोजेको गुनासो रहेको उनले बताए।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ०३ बजे