Logo

राजनीति

संसद बहिष्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो : सांसद डाँगी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन् ।

उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु । संसद बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन, यो लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो । जुन विगतमा सत्तामा बसेकाहरूले पनि पटक–पटक प्रयोग गरेका छन् ।’

उनले रास्वपाको आन्दोलन सत्तापक्षलाई खबरदारी गर्न र जनताको आवाज संसदमार्फत् प्रतिनिधित्व गराउने उद्देश्यले गरिएको बताइन् ।

‘लोकतन्त्र केवल संख्याको बलमा सरकार चलाउने नाम होइन,’ उनले भनिन्, ‘प्रतिपक्षको आवाज सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने कुरा सत्ता पक्षले बिर्सनु हुँदैन ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : ५२ बजे