कालिस्पेल, मोन्टाना — अमेरिकाको मोन्टाना राज्यको कालिस्पेल विमानस्थलमा अवतरणका क्रममा सोकाटा टीबीएम–७०० टर्बोप्रोप विमान जमिनमा पार्क गरिएको अर्को विमानसँग ठोक्किँदा आगलागी भएको छ। ठक्करपछि आगो घाँसे क्षेत्रमा समेत फैलिँदै बाक्लो कालो धुवाँ उठेको स्थानीय अधिकारीले जनाएका छन्।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार घटना रनवेको दक्षिणी अन्त्यतिर भएको हो। कालिस्पेल अग्निनियन्त्रण विभाग प्रमुख जे हेगनका भनाइमा, पाइलट र तीन यात्रु आगलागी अघि नै विमानबाट बाहिर निस्कन सफल भएका थिए। दुई यात्रु सामान्य घाइते भएका र हवाईअड्डामै उपचार गरिएको उनले बताए।
एफएएको रेकर्डअनुसार, उक्त विमान सन् २०११ मा बनेको हो र यसको स्वामित्व वासिङटनको पुलम्यानस्थित मिटर स्काई एलएलसीसँग रहेको छ।
स्थानीय लज सञ्चालक रन डेनियलसनले ठूलो आवाज सुनिएको र विमानस्थल क्षेत्र कालो धुवाँले ढाकिएको बताए।
घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया