काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको वितरणयोग्य मुनाफा आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सो मुनाफा ५८ करोड ३ लाख ६१ हजार रुपैयाँ थियो ।
शुक्रबार सार्वजनिक चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार, मुनाफा वृद्धिसँगै बैंकको लाभांश क्षमता प्रतिसेयर १३ रुपैयाँ २२ पैसा पुगेको छ । बैंकले डिबेन्चर रिडेम्पसन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ ।
समग्र नाफा १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात २.६२ प्रतिशतमा सीमित गरिएको छ । खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जसमा ६.४३ प्रतिशत वृद्धि भएको हो । सेवा शुल्क तथा अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
कुल सञ्चालन आम्दानी ११.८२ प्रतिशतले बढ्दै ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । निक्षेप संकलन १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (EPS) २४ रुपैयाँ १० पैसा पुगेको छ भने वितरणयोग्य EPS १३ रुपैयाँ २२ पैसा छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ ।
दोस्रो बजारमा सेयर मूल्यका आधारमा प्राइस–अर्निङ अनुपात १५.९३ रहेको छ । पुँजी पर्याप्तता अनुपात ११.७७ प्रतिशत छ । कर्जा–निक्षेप अनुपात ७६.९२ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर ६.४२ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ३.९८ प्रतिशत कायम छ ।
प्रतिक्रिया