Logo

समाचार

एसएसपी बढुवामा ढिलाइ : उजुरीपछि प्रक्रिया अलपत्र


२० श्रावण २०८२, मंगलबार  

46
Shares

काठमाडौं — प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका विषयमा परेकाे उजुरीमाथि छानबिन प्रक्रिया सुरु नभएको कारण बढुवा प्रक्रिया अलपत्र परेको छ।
गत साउन ५ गते गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो। तर सिफारिस सूचीमा नपरेका एसपी विमल बस्नेतले आफू जेष्ठता र ‘मेरिट लिस्ट’को पहिलो नम्बरमा परेको दाबी गर्दै बढुवा समितिविरुद्ध उजुरी दिएका थिए।
बस्नेतले उजुरी दिएको एक सातासम्म पनि छानबिन प्रक्रिया अघि नबढ्दा सिफारिसमा परेकाहरूको बढुवा रोकिएको छ। प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार बस्नेत विदेशमै रहेकाले उनले वारेसमार्फत उजुरी पठाएका हुन्।

प्रहरी स्रोतका अनुसार उजुरीकै कारण सात दिनभित्र पुष्टि हुने भनिएको बढुवा प्रक्रिया ढिलाइ भएको हो। “उजुरी नपरेको भए सात दिनभित्र बढुवा कन्फर्म हुने थियो,” ती अधिकारीले भने, “उजुरीपछि केही ढिलाइ भएको हो, आजभोलिमा प्रक्रिया टुंगिन्छ।”

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ४१ बजे