Logo

समाचार

असोज १ देखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य


२० श्रावण २०८२, मंगलबार  

184
Shares

काठमाडौं । आगामी असोज १ गतेदेखि देशभर सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो।
निर्णय अनुसार प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमार्फत सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। यो व्यवस्था २०८२ सालको असोज १ गतेदेखि लागु हुनेछ।
मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालन गर्दै इम्बोस्ड नम्बर प्लेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने जनाएको छ।

त्यसैगरी, सवारी चालक अनुमतिपत्र छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग गत जेठ ९ गते सम्झौता भएको सन्दर्भमा भदौ मसान्तभित्रै छपाइ कार्य सुरु गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले अन्य निर्णयहरू पनि गरेको छ, जसमा १० वर्षे सवारी चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरूपता कायम गर्ने, तथ्यांक डिजिटलाइज गर्ने, भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने, सफ्टवेयर प्रणालीलाई व्यवस्थित बनाउने, बेरुजु फस्र्यौटलाई प्रभावकारी बनाउने, र राइड सेयरिङ प्रणालीलाई एकरूपता सहित लागू गर्ने योजना रहेका छन्।

मन्त्री दाहालले निर्णय कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न टेक्निकल कमिटी गठन गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ४२ बजे