काठमाडौं । अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डानजिकै बुधबार साँझ दुर्घटनाग्रस्त भएको हो।
फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित नेभल एयर स्टेसन लिमोर नजिक स्थानीय समयअनुसार साँझ ६ः३० बजे दुर्घटना भएको हो। नौसेनाका अनुसार दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ।
दुर्घटनाका बेला विमान प्रशिक्षण उडानमा रहेको र कुनै सैन्य मिसनमा नरहेको जनाइएको छ। पाइलट समयमै विमानबाट इजेक्ट गर्न सफल भएका थिए। उनलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको र हाल उनी खतरामुक्त रहेको नौसेनाले जानकारी दिएको छ।
दुर्घटनामा परेको विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५ (‘रफ रेडर्स’) अन्तर्गतको थियो, जुन फ्लीट रिप्लेसमेन्ट स्क्वाड्रन हो। यसको मुख्य काम पाइलट र एयर क्रूलाई तालिम दिनु हो।
एफ–३५ लडाकु विमान पाँचौँ पुस्ताको स्टिल्थ मल्टिरोल विमान हो जसलाई लकहिड मार्टिन कम्पनीले निर्माण गरेको हो। हवाई आक्रमण, गुप्तचर संकलन, रडार छल्ने क्षमता र इलेक्ट्रोनिक युद्धको लागि यो विमान विशिष्ट मानिन्छ। दुर्घटनामा परेको उक्त भेरियन्ट अमेरिकी नौसेनाका लागि विशेष रूपमा डिजाइन गरिएको हो, जसले विमानवाहक जहाजबाट उडान गर्न सक्छ।
उक्त एफ–३५ विमानको लागत करिब १०० मिलियन अमेरिकी डलर रहेको जनाइएको छ।
प्रतिक्रिया