Logo

समाचार

पार्टीको मुद्दा बोकेर जनताको घरदैलोमा पुग्न विभागीय प्रमुखहरुलाई अध्यक्ष यादवको निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय विभाग र जनवर्गिय संगठनका प्रमुखहरुलाई पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केन्द्रीय विभाग र जनवर्गिय संगठनका प्रमुखहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावी तयारी र जनताका बीच पार्टीको एजेण्डा र मुद्दा बोकेर आमजनताको घरघरमा पुगेर प्रष्ट पार्न निर्देशन दिएका हुन् ।

अध्यक्ष यादवले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नु पर्ने बताए ।

‘जसपा नेपालले बलियो ढंगले उठाउँदै आएको मुद्दाहरु प्रष्ट रुपले अझै जनताबीच पुग्न सकेको छैन । ती मुद्दाहरु जनतामा पुर्याउने र उहाँहरुलाई बुझाउने काम तपाईहरुको हो’– अध्यक्ष यादवले भने, ‘पार्टीपंक्तिलाई अब न विश्राम गर्ने समय छ, न छूट छ, तपाईहरु सम्पूर्ण शक्ति लगाए आगामी चुनावको तयारीमा होमिनुस् ।’

पार्टीलाई बलियो बनाउन संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

‎‘निर्वाचनमा आफ्ना कार्यक्षमताहरूलाई थप विकसित गर्नु आवश्यक छ, जनता माझ मुद्दा पु¥याउन र सशक्त संगठन निर्माण अपरिहार्य छ,’ अध्यक्ष यादवले भने । ‎

‎मधेश प्रदेशसहित देशैभरी पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई अझ व्यापक बनाउँदै लैजानु पर्नेमा जोड दिँदै अध्यक्ष यादवले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान समेत गरे ।‎

‎बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय संगठनहरूको भूमिकालाई थप प्रभावकारी बनाउने बारे पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : २४ बजे