काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने प्रयासमा अवरोध देखिएको छ। गत असार १४ गते पार्टी सदस्यता नवीकरण गर्दै राजनीतिमा फर्किएको सार्वजनिक गरेकी भण्डारीलाई पार्टीभित्रै स्वागत गर्ने वातावरण नदेखिएको एमाले स्रोतले जनाएको छ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज हलमा विधान महाधिवेशन आयोजना गर्दैछ। तर, सो महाधिवेशनमा १०औं महाधिवेशनका प्रतिनिधिलाई मात्र सहभागी गराउने सचिवालयको निर्णयले भण्डारीको सहभागिता असम्भवजस्तै देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशलाई समर्थन नगर्ने पक्षमा छन्।
यसैबीच, पार्टी विधानको धारा ६४ अनुसार ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने प्रस्ताव पनि सचिवालय र पोलिटब्यूरो बैठकमा पेश गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उमेर हद र कार्यकाल सीमा हटाउन ओली पक्ष आक्रामक देखिएको छ, जसले ओलीको नेतृत्वमा निरन्तरता दिने सम्भावनालाई बल पुर्याउने विश्लेषण गरिएको छ।
गौतमका अनुसार, सचिवालय बैठकमा ओलीले भण्डारीको राजनीतिमा पुनः सक्रियता विषयमा ब्रिफिङ गरेका थिए। पोलिटब्यूरो बैठकमा पनि यसबारे गम्भीर छलफल भएको बताइएको छ।
एमालेभित्र पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कनु उपयुक्त नहुने मत बलियो हुँदै गएको छ। ओलीपक्षले राष्ट्रपतिको जस्तो गरिमामय पदमा पुगिसकेकी भण्डारीको पुनः सक्रियता पार्टीको मूल्य र गरिमा विपरित हुने ठानेको छ।
यता, ओली समूहबाट चापमा परेका नेताहरु भने भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई सकारात्मक रूपमा लिँदै उनको नेतृत्वमा वैकल्पिक धार निर्माण हुन सक्ने आशा गरिरहेका छन्। ओली र भण्डारीबीचको सम्भावित प्रतिस्पर्धाले एमालेको आन्तरिक शक्ति सन्तुलनमा असर पर्ने अनुमान गरिन्छ।
प्रतिक्रिया