Logo

राजनीति

गगन थापा: संघीयता प्रभावकारी बनाउन संघले सबैभन्दा बढी अधिकार छोड्नुपर्छ


२ श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता प्रभावकारी बनाउन संघले अधिकार छोड्नुपर्ने बताएका छन्। शुक्रबार पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले संघमा २५ वटा मन्त्रालय आवश्यक नभएको स्पष्ट पारेका हुन्।

थापाले संघीय संरचना अनुसार सातदेखि आठ वटा मन्त्रालय पर्याप्त हुने बताए। “संघीयतामा देश गइसकेको अवस्थामा सबै अधिकार संघमै राखेर चल्न सक्दैन,” उनले भने, “संघमा २५ वटा मन्त्रालय राख्न आवश्यक छैन। सात–आठ वटा मन्त्रालय भए पुग्छ।”

उनले संविधान संशोधनको सवालमा नेपाली कांग्रेसको स्पष्ट र अडिग धारणा हुनुपर्ने आवश्यकता औंल्याए। संशोधन प्रक्रियाका लागि पार्टीभित्र कार्यदल गठन गरी एमालेसँग संवाद गरेर साझा धारणा बनाइने र त्यसपछि अन्य दलहरूसँग छलफल गरिने जानकारी पनि उनले दिए।

“संविधान संशोधनका लागि कांग्रेसले कार्यदल बनाउनेछ। एमालेसँग मिलेर साझा दृष्टिकोण बनाएपछि मात्रै माओवादी र अन्य दलहरूसँग छलफल गरिनेछ,” थापाले स्पष्ट पारे।

थापाले आठ–दश वर्षको संघीय अभ्यासले हालको संरचनाले काम नगरेको देखिएको उल्लेख गर्दै संघीयताको निर्मम समीक्षा आवश्यक रहेको बताए। संघीयता सफल बनाउन संघले सबैभन्दा धेरै अधिकार र जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने धारणा उनले राखे।

“प्रदेश सरकारले अधिकार प्रयोग गर्न सकेको छैन। संघले अधिकार दिन नचाहेको अवस्था देखिएको छ,” उनले भने, “संघीयता चलाउन संघले धेरै कुरा छोड्न आवश्यक छ।”

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ५५ बजे