काठमाडौं — इजरायलका एक वरिष्ठ अधिकारीले इरानले अमेरिकी आक्रमणपछि भग्नावशेषमा पुरिएको परिष्कृत युरेनियम पुनः निकाल्न सक्ने बताएका छन्। उनका अनुसार उक्त युरेनियम इरानको इस्फहानस्थित आणविक केन्द्रको गहिराइमा रहेको अनुमान गरिएको छ।
गत महिना अमेरिकाले इरानका तीन आणविक केन्द्रमा हवाई आक्रमण गरेको थियो। फोर्डो, नटान्ज र इस्फहान केन्द्रलाई लक्ष्य बनाइ बी–२ स्टिल्थ बमवर्षकमार्फत ‘बंकर बस्टर’ बम खसालिएको थियो। तर, तीमध्ये दुई केन्द्रमा खसालिएका बमले लक्ष्य भेते/नभेटेकोबारे अझै प्रष्ट विवरण नआएको अमेरिकी बम निर्माण एजेन्सीले जनाएको छ।
इजरायली अधिकारीका अनुसार इरानको अधिकांश परिष्कृत युरेनियम ती तीनै केन्द्रमा रहेको र आक्रमणअघि अन्यत्र सारिएको संकेत छैन। इस्फहान केन्द्रमा रहेको युरेनियम गहिरो स्थानमा पुरिएको हुन सक्ने बताउँदै उनले इरानले त्यसलाई निकाल्न सक्ने सम्भावना रहेको तर त्यो कठिन प्रक्रिया हुने बताएका छन्।अमेरिकाले इरानको आणविक हतियार निर्माण क्षमतामा रोक लगाउन आक्रमण गरेको थियो। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको जिकिर गर्दै आएको छ।
प्रतिक्रिया