Logo

समाचार

खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव



रौतहट । पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ ।

लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्कर मार्फत पानी वितरण कार्य गरिरहेको छ ।

वीरगञ्जका विभिन्न टोलमा पुगेर  मेयर राजेशमान सिंह आफै ट्यांकरबाट पानी वितरण गर्दै आएका छन । सिंहका अनुसार समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने तयारी भइरहेको छ । तत्कालका लागि ट्यांकरमार्फत पानी आपूर्ति गरी जनतालाई सहजता दिन नगरपालिकाले पहल थालेको उनको भनाइ छ ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि पालिकाको वस्तीमा ट्यांकरमार्फत पानी वितरण गरिरहेका छन । खानेपानी मन्त्रीकै गृह  जिल्लामा पानीको अभाव भएको भन्दै जनमत पाटीले वीरगञ्जमा विरोध जनाएको छ ।  तिनै तहको सरकारले खाने पानीको विषयमा गम्भीर हुनुपर्ने र तत्काल समाधान गर्नु पर्ने उनीहरुको माग छ ।  खाली घैँटो र बाल्टिनसहित ‘जल सत्याग्रह’ नारासहितको ब्यानर बोकेर विरोध गरेका हुन् ।

मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भए पनि खानेपानीको समस्या समाधान नभए मुख्यमन्त्री कार्यालय घेराउ गर्ने उनीहरुले चेतावनी दिएका छन  । 

संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर–घरमा पुगेर स्थलगत अनुगमन गरेका छन । उनले खानेपानी समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताएका छन् ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए । आयोजनाले खानेपानीको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याउने  उनको अपेक्षा छ । खानेपानी समस्या समाधानका लागी वीरगंज महानगरपालिकामा बैठक बसेको छ ।

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा संघीय खानेपानी मन्त्री यादव सहित वीरगंज महानगरपालिकाका नगरप्रमुख, कर्मचारी, नेपाल खानेपानी संस्थानका वारा र पर्साका प्रमुखको उपस्थिति वीरगंजको खानेपानीको समस्या समाधानका लागि छलफल भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ५३ बजे