Logo

कोशी

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो



कोशी । कोशी प्रदेशको समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा रोड सो कार्यक्रमहरु संचालन भइरहेका छन् ।

प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूको माध्यमबाट देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएको छ ।

रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, बिराटनगरको ऐतिहासिक स्थल, सँखुवासभाका पर्यटकीय स्थल, तेर्हथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन बर्ष मुल आयोजक समितिका सदस्य एबम पर्यटनकर्मी बासुदेब बरालले बताए ।

पर्यटन प्रबर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौंका ३ स्थानमा र पोखराका २ स्थानमा रोड सो सम्पन्न भएको छ । रोड सो अब चितवन, हेटौडा र जनकपुरमा आयोजना गरिने कोशी प्रदेश पर्यटन बर्ष २०८२ मुल आयोजक समितिका सदस्य राजन दँगालले जानकारी दिए ।  कार्यक्रममा पर्यटकीय स्थलहरुको भिडियो प्रदर्शन, स्थानिय कला संस्कृति प्रस्तुतिकरण र कोशी प्रदेश भ्रमणका लागि निम्तो समेत दिईएको दँगालले बताए ।

कोशी प्रदेशको पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता रोड सो कार्यक्रमहरूले देशभर कोशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । उनले भने, ‘कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार–प्रसार गर्ने अभियानमा छौं ।’

स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : २७ बजे