Logo

समाचार

नेताले आफ्ना सन्तान सरकारी विद्यालयमा नपठाएसम्म शिक्षामा विभेद अन्त्य असम्भव : ऋषि धमला



काठमाडौं । शिक्षा क्षेत्रको चरम असमानता र दोहोरो मापदण्डप्रति तीव्र असन्तुष्टि जनाउँदै प्राइम टेलिभिजनका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेताहरूलाई आफ्ना छोराछोरी तथा नाति–नातिनाहरूलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन सार्वजनिक रूपमा चुनौती दिएका छन्।

काठमाडौँस्थित एक्टिभ एकेडेमीले आयोजना गरेको करियर काउन्सिलिङ कार्यक्रममा बोल्दै धमलाले शिक्षा क्षेत्रमा व्याप्त विभेदको अन्त्यका लागि अब नीतिनिर्माताहरूले जिम्मेवारीबाट भाग्न नमिल्ने ठोकुवा गरे। “जनताको करबाट तलब खाने नेताहरूका छोराछोरी विदेशी विद्यालय वा महँगो निजी स्कुलमा पढ्दा, गरीब नागरिकका सन्तान कुर्चीविहीन कक्षा कोठामा शिक्षा पाउने नाममा दु:ख झेलिरहेका छन्,” धमलाले भने, “यदि नेताहरूको सन्तान सरकारी स्कुलमै पढ्ने वातावरण बनाइयो भने मात्रै शिक्षा क्षेत्रमा समानता र गुणस्तर सम्भव छ।”

धमलाले उच्चपदस्थ राजनेता र सरकारी अधिकारीहरूलाई आफ्ना छोराछोरी स्वदेशमै पढाउन आग्रह गर्दै विदेश पलायन प्रवृत्तिले देशको भावी पुस्ता र प्रतिभा गुमाउने चेतावनी दिए। उनले सरकारी तथा सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिँदै भने, “शिक्षालाई राजनीति होइन, गुणस्तर चाहिएको छ।”

एसईई नतिजामा आंशिक सुधार देखिए पनि त्यो पर्याप्त नरहेको स्पष्ट पार्दै उनले ९८ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने स्तरमा सुधार गर्न सरकारलाई कडा सन्देश दिए। धमलाले संविधानले शिक्षा निशुल्क हुने व्यवस्था गरे पनि व्यवहारमा शिक्षा झन् महँगो हुँदै गएकामा गम्भीर आपत्ति जनाए।

कार्यक्रममा धमलाको नाममा प्रत्येक वर्ष चार जना विद्यार्थीलाई निःशुल्क शिक्षा दिने घोषणा समेत गरिएको छ। एक्टिभ एकेडेमीका प्रिन्सिपल प्रशन्न अर्यालले कक्षा १ देखि १२ सम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गराइने घोषणा गरे।

धमलाले अन्त्यमा भने, “जबसम्म शिक्षामा समानता हुँदैन, तबसम्म देशले इमानदार र सक्षम नागरिक उत्पादन गर्न सक्दैन। अब नेताले भाषण होइन, व्यवहारले उदाहरण दिनुपर्छ।”

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ४६ बजे