Logo

समाचार

अभिलेखिकरणको म्याद थप्ने तयारीमा ललितपुर महानगर, चार हजार बढी भवन दायरमा 



ललितपुर । ललितपुर महानगरले निर्माण सम्पन्न भवनको नियमित र अभिलेखिकरणबारे जानकारी दिन प्राविधिकहरुलाई तालिम दिएको छ ।

शहरी योजना व्यवस्थापन समितिद्धारा आयोजित  दुई दिने उक्त तालिममा वडा नम्बर १ देखि २९ वटै वडाका प्राविधिकहरु सहभागी थिए ।

अभिलेखिकरणको प्रक्रिया र नियम कानुनबारे प्राविधिक थप जानकारी दिन तालिम आयोजना गरिएको शहरी विकास योजना महाशाखाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले बताए । उनले भने, ‘उहाँहरुलाई प्राविधिक विषयका बारेमा थप ज्ञान भएपछि स्थानीयलाई बुझाउन सजिलो हुन्छ ।’

अभिलेखिकरणले व्यक्तिको सम्पत्तिको अभिलेख रहने उनले बताए । ‘सम्पत्तिको बेचविखन नभइरहेको अवस्थामा बेचबिखन गर्न सकिन्छ । सम्पत्तिको हक हस्तान्तरण गर्न सहज हुन्छ । शैक्षिक,आवासीय लगायतका अन्य ऋण लिन सकिन्छ,’ उनले भने ।

दुई दिने तालिममा अभिलेखिकरणबारे नागरिकको बुझाईलाई कसरी सहज बनाउने बारेमा छलफल गरिएको र अन्य प्राविधिक पक्षबारे पनि कुरा गरिएको उनले बताए ।

नगरबासीको माग अनुसार अभिलेखिकरणको म्याद थप्ने तयारी भइरहेको महाशाखा प्रमुख महर्जनले बताए । उनले भने, ‘असारको नगरसभाले म्याद थप्ने गरी तयारी भइरहेको छ ।’ हालसम्म चार हजार बढी भवन अभिलेखिकरणको दायरमा आएका छन् ।

कानुन महाशाखा प्रमुख, निर्देशक खगेन्द्रप्रसाद वस्तीले वडामा खटिने प्राविधिक जनशक्तिलाई अधिलेखिकरणको बारेमा जानकारी गराउन तालिम आयोजना गरिएको बताए ।

उनले भने,‘ वडाका प्राविधिकले अभिलेखिकरणको विषयमा कुरा बुझेपछि स्थानीयलाई कुरा बुझाउन सजिलो हुन्छ, त्यसैले तालिम राखेका हौं । तालिमले अभिलेखिकरण सम्बन्धी बुझाईलाई सरल बनाउने बताउँदै नगरबासीको भवनहरु सम्बन्धी जनगुनासोलाई सम्बोधान गर्न मद्दत गर्नेछ ।’

अभिलेखिकरणका बारेमा स्थानीयमा भएको दुविधा र अस्पष्टतालाई बुझाउन र समस्या समाधान गर्न तालिमको व्यवस्था गरेको उनले बताए । प्राविधिकहरु महानगरको विकासको सिपाही भएको बताउँदै गुणस्तरसहितको विकास निर्माणमा जुट्न अनुरोध गरे ।

समितिका सदस्य एवम् कार्यपालिका सदस्य, वडा नं.१६ का वडा सदस्य बविता श्रेष्ठले स्थानीयको मनोविज्ञान बुझेर प्राविधिकले अभिमुखिकरणबारे बुझाउनुपर्ने बताइन् । कार्यक्रममा नक्सापास लगायतका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : १९ बजे