काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका समीक्षा अधिकारी र एलिना चौहानद्वारा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने कार्यको प्रशंसा गरेका छन्।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै प्रधानमन्त्री ओलीले उक्त कार्यलाई “सही तरिका” भन्दै समर्थन जनाएका हुन्। उनले सामाजिक सञ्जालमा बढ्दो परपीडक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्ता प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने आवश्यकता औंल्याए।
“आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ,” प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले थप लेखेका छन्, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।”
गायिकाद्वय अधिकारी र चौहानले हालै सामाजिक सञ्जालमा आफूहरूलाई लक्षित गर्दै आएका अश्लील र अभद्र टिप्पणी गर्ने केही प्रयोगकर्ताहरूको विवरण सार्वजनिक गर्दै साइबर दुराचारविरुद्ध आवाज उठाएका थिए।
प्रधानमन्त्रीको समर्थनपछि उक्त अभियानले थप सार्वजनिक ध्यान तानेको छ।
प्रतिक्रिया