काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय पुनरागमन गर्ने तयारी गरिरहेकी छन्। एमालेका पूर्व महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा असार १४ गते शनिबार आयोजना हुने विशेष कार्यक्रममा उनले पार्टी प्रवेशको घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने छन् भने पूर्व राष्ट्रपति भण्डारी विशिष्ट अतिथि रहनेछिन्। प्रधानमन्त्री ओली सोही दिन युरोपेली राष्ट्र स्पेनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेकाले उनी कार्यक्रमको प्रारम्भिक चरणमा मात्र सहभागी हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन्।
एमालेनिकट स्रोतका अनुसार, भण्डारीको सम्बोधनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र समसामयिक राजनीतिक अवस्था सम्बन्धमा ठोस सन्देश दिने अपेक्षा गरिएको छ। पार्टी विधानअनुसार ७० वर्ष उमेरहद व्यवस्था हाल निलम्बनमा रहेकाले भण्डारीको सक्रिय भूमिकाको सम्भावना बलियो बनेको बताइएको छ।
मदन भण्डारी फाउण्डेशनको आयोजनामा राष्ट्रिय सभागृहमा हुने कार्यक्रम एमालेभित्र पछिल्लो समय देखिएको नेतृत्वको अन्तरविरोध र रणनीतिक पुनर्संरचनाका सन्दर्भमा निर्णायक मोडको रूपमा हेरिएको छ।
भण्डारीले पूर्व राष्ट्रपति पदको जिम्मेवारी पूरा गरेपछि राजनीतिक विश्राम लिइरहेकी थिइन्। तर पछिल्लो समय पार्टीसँगको निकटता र सार्वजनिक सक्रियता बढ्दै गएको छ। फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीका अनुसार, प्रधानमन्त्रीको समय सुनिश्चित भएपछि मात्र कार्यक्रम तय गरिएको हो र प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गरेर स्पेन प्रस्थान गर्नेछन्।
प्रधानमन्त्री ओली असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने कार्यक्रम छ। [file photo]
प्रतिक्रिया