Logo

समाचार

जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउन समिति गठन हुने तयारी



काठमाडौं । नेकपा एमालेका दिवंगत महासचिव तथा जनताको बहुदलीय जनवाद (जबज) का सूत्रधार जननेता मदनकुमार भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) मनाउन केन्द्रीयस्तरमा मूल समिति गठन गर्ने तयारी भएको छ।

मदन भण्डारी फाउण्डेशनले नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा दुई सय सदस्यीय मूल समिति गठन गर्न लागेको हो। भण्डारीको जन्म मिति असार १४ गते पारेर आगामी १४ असारमा राजधानीको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमसहित समिति घोषणा गरिनेछ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन् भने पूर्व राष्ट्रपति तथा भण्डारीकी पत्नी विद्या भण्डारी विशेष अतिथि रहने फाउण्डेशनले जनाएको छ।

फाउण्डेशन स्रोतका अनुसार मूल समिति गठनपछि दुई वर्षभित्र विभिन्न स्मृति कार्यक्रम सञ्चालन गरिनेछ। ती कार्यक्रममार्फत विद्या भण्डारीको देशव्यापी दौडाहा तथा कार्यकर्ता भेटघाटलाई औपचारिक रूप दिइने तयारी समेत गरिएको छ।

यसअघि गत साता प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच बालुवाटारमा भेटवार्ता भएको थियो। सो अवसरमा फाउण्डेशनको भावी योजना, हीरक जयन्तीको आयोजना र भण्डारीको राजनीतिक योगदानबारे चर्चा भएको थियो।

फाउण्डेशनका अनुसार भण्डारीकै इच्छा अनुसार ईश्वर पोखरेललाई संयोजक बनाउने सहमति भएको हो। यसै सन्दर्भमा फाउण्डेशनको ब्यानरमा भण्डारीको स्मृतिमा विभिन्न गतिविधि अघि बढाइएको छ।

यसअघि गत असोज ५ गते फाउण्डेशनको स्थापना दिवसमा पूर्व राष्ट्रपति भण्डारीले २०८३ सालमा मदन भण्डारीको हीरक जयन्ती विशेष रूपमा मनाउने घोषणा गरेकी थिइन्।

वि.सं. २०१० साल असार १४ गते जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो। प्रतिस्पर्धात्मक लोकतान्त्रिक राजनीतिलाई आधार मान्दै कम्युनिस्ट आन्दोलनको पुनःपरिभाषा गर्न उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ विचारधाराले नेपाली राजनीतिमा महत्वपूर्ण स्थान बनाएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : ३७ बजे