Logo

कर्णाली प्रदेश

जुम्लामा गृहमन्त्री लेखकको राजीनामा माग



मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । भिजिट भिसाको नाममा हुने मानव तस्करीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी प्रभावकारी अनुसन्धान र कारबाहीको माग राख्दै रास्वपा जुम्लाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद विनिता कठायत र जुम्ला जिल्ला संयोजक मक्कर बहादुर भण्डारी नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय जुम्लामा बुझाएको ज्ञापनपत्रमा हजारौं नेपाली युवाहरू ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग र संगठित आपराधिक समूहहरूको संलग्नतामा दुबई लगायतका मुलुक हुँदै गैरकानुनी रूपमा तेस्रो देशमा पु¥याइरहेका छन्। यस प्रकारको मानव तस्करीले नेपाली राज्यव्यवस्था, कानुनी शासन र मानवअधिकारमा गम्भीर प्रहार गरेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘सरकार र सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन समिति गठन गरी अनुसन्धान गर्नुपर्छ । छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न हुनुपर्छ । दोषीहरूलाई कानुन बमोजिम कडा कारबाही गरिनुपर्छ भने पीडितहरूको संरक्षण, राहत र पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ ।’

ज्ञापनपत्रमार्फत भिजिट भिसाको दुरुपयोग र मानव तस्करीमा संलग्न सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनीलगायतका निकायहरूको भूमिकाको निष्पक्ष छानबिन, नीतिगत कमजोरीहरूको पहिचान, अन्तर–निकाय समन्वय सुधार र छानबिन प्रक्रियामा उच्च पारदर्शिता कायम राख्नुपर्ने माग गरिएको सांसद विनिता कठायतले बताइन् ।

मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक र प्रशासनिक जवाफदेहिता सुनिश्चित गर्न गृहमन्त्रीको राजीनामा समेत माग गरिएको हो,’उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयलाई संसदमा समेत बारम्बार उठाउँदै आएको छ ।’

रास्वपा जिल्ला संयोजक भण्डारीले भने, ‘हामी नेपाली युवाहरूको सुरक्षाका लागि यो विषयमा कुनै सम्झौता गर्न सक्दैनौं । सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ र दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।’

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : १९ बजे