काठमाडौं । भारतीय नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई आपतकालीन उपकरणको नियमित निरीक्षण नगरी विमान उडाएको भन्दै सुरक्षा नियम उल्लंघनको आरोप लगाएको छ । सरकारी दस्तावेजमा एयरबसका विमानहरूमा आपतकालीन एस्केप स्लाइड जस्ता महत्वपूर्ण उपकरणहरूको निरीक्षण समयमै नगरी उडान भरेको र मर्मतसम्भारमा ढिलाइ भएको पाइएको छ । यो जानकारी रोयटर्सले प्राप्त गरेको छ ।
तर, रोयटर्सले प्राप्त गरेका यी दस्तावेज तथा जाँच प्रतिवेदन गत हप्ता भएको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनासँग सम्बन्धित नभएको बताएका छन् । उक्त दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो भने एकजना मात्र बच्न सफल भएका थिए ।
नागरिक उड्डयन महानिर्देशकको मे महिनामा गरिएको अनियमित निरीक्षणबाट तीनवटा एयरबस विमानहरूमा आपतकालीन उपकरणको अनिवार्य निरीक्षण नगरी उडान भरेको पत्ता लागेको छ । एक ए ३२० विमानको निरीक्षण एक महिना ढिला गरी १५ मेमा मात्र गरिएको थियो, जबकि उक्त विमान दुबई, रियाद र जेद्दाजस्ता अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान भरेको नागरिक उड्डयन रडार डाटाले देखाएको छ । अर्को ए ३१९ विमानको निरीक्षण तीन महिना ढिला भएको छ भने तेस्रो विमानको निरीक्षण दुई दिन ढिला गरिएको छ ।
प्रतिवेदनमा म्याद समाप्त वा प्रमाणीकरण नभएका आपतकालीन उपकरणहरू सहित विमान उडानमा पठाइएको उल्लेख छ । यसले विमान सुरक्षा मापदण्ड र प्रक्रियागत नियन्त्रणमा कमजोर देखाएको बताइएको छ ।
एयर इन्डियाले सन् २०२२ मा टाटा समूहले सरकारबाट खरिद गरेको थियो । एयर इन्डियाले विज्ञप्तिमार्फत सबै एस्केप स्लाइडको मर्मतसम्भार र रेकर्ड जाँच गर्ने प्रक्रिया सुरु गरेको र केही दिनभित्र यो कार्य पूरा गर्ने जनाएको छ ।
एयर इन्डियाको इन्जिनियरिङ विभागका एक इन्जिनियरले मर्मतको क्रममा गल्तीले एस्केप स्लाइड खोलिदिएपछि समस्या देखिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया