काठमाडौँ । खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा तथ्य र वैज्ञानिक आधारलाई प्राथमिकता दिन सम्बन्धित अधिकारीहरूले आमसञ्चारकर्मीलाई आग्रह गरेका छन्।
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार राजधानीमा आयोजना गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर शिक्षा सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै उनीहरूले सञ्चारमाध्यममार्फत सत्यतथ्यसहित जिम्मेवार ढंगले जानकारी सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमकी विज्ञ सल्लाहकार जीवनप्रभा लामाले सञ्चारकर्मीलाई खाद्यजन्य प्रदूषण, रोगजन्य विषयको वैज्ञानिक पक्ष बुझी रिपोर्टिङ गर्न सुझाव दिइन्। उनले भने, “तथ्य र विज्ञानमा आधारित समाचारले उपभोक्तालाई सचेत बनाउँछ र सम्पूर्ण उत्पादनप्रति गलत धारणा बन्नबाट जोगाउँछ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले विश्व स्वास्थ्य संगठनको तथ्याङ्क उद्धृत गर्दै खाद्य अस्वच्छताका कारण विश्वभर हरेक वर्ष ६० करोडभन्दा बढी मानिस प्रभावित हुने र करिब ४ लाख २० हजारको मृत्यु हुने जानकारी दिए। उनका अनुसार भौतिक, रासायनिक र जैविक तीन कारणले खाद्य वस्तु अस्वस्थ्यकर बन्ने गर्छन्।
कार्यक्रममा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका अध्यक्ष होमनाथ न्यौपानेले खाद्यको गुणस्तरबारे विशेषज्ञबाहेक अरूले टिप्पणी गर्दा समस्या उत्पन्न हुने बताए। “खाद्य मूल्याङ्कनको विषयमा बोल्ने व्यक्ति योग्य हुनुपर्छ,” उनले भने।
महानगरपालिकाले हाल ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना अन्तर्गत खाद्य स्वच्छता प्रवर्धन र प्रमाणीकरणमा चरणबद्ध कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यस वर्ष ‘फुड सेफ्टी बुट क्याम्प’ मार्फत साना तथा मध्यम भोजनालय, मासुजन्य वस्तु उत्पादक, मिठाइ उत्पादक र परम्परागत सेवाप्रदायकलाई तालिम दिइएको छ।
साथै, खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याइएको छ भने खाद्य सेवाको मूल्याङ्कन गर्न नयाँ प्रणाली विकासको तयारी गरिएको छ। यसले व्यवसायीलाई जवाफदेही बनाउने, उपभोक्तालाई सूचित निर्णय गर्न सहयोग पुर्याउने र व्यवसायिक प्रतिस्पर्धालाई स्वस्थ बनाउने अपेक्षा गरिएको छ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले खाद्य स्वच्छता कायम राख्न सबै पक्षको समान जिम्मेवारी रहेको बताए। कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले खाद्य सुरक्षाको सुदृढीकरणका लागि अझ धेरै काम बाँकी रहेको उल्लेख गरे।
प्रतिक्रिया