काठमाडौं । बहुप्रतिक्षित प्रतिस्पर्धात्मक पाककला रियालिटि शो ‘शेफ नेपालः द प्रोफेशनल’को निर्देशकका रुपमा परिचित निर्देशक अमन प्रताप अधिकारी अनुवन्धित भएको धर्म पिक्चर्सले सार्वजनिक गरेको छ ।
निर्देशक अधिकारी दुरदर्शी कथा कथन र गतिशिल रचनात्मक निर्देशनमा ख्याति प्राप्त ब्यक्तित्व हुन् । ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘कृपा अनप्लगड’, लगायतका शोहरु निर्देशन गरेका उनले पोइट आइडल नामक कवितात्मक रियालिटि शोको निर्माण तथा निर्देशन गरेका थिए ।
निर्देशक अधिकारीले यस पाककला रियालिटि शो निर्देशन गर्दै गर्दा नेपाली खाना र पाककला परम्पराको आधुनिकीकरणलाई स्क्रिनमार्पmत पुनः परिभाषित गर्नेछन् र पाककलालाई टिभी कार्यक्रम बनाउँदै गर्दा यस विधामा रोमान्चकता र नविनताको ल्याउनेछन भन्नेमा निर्माता ढुक्क छन् ।
नेपालको पहिलो व्यवसायिक शेफहरुको पाककला प्रतियोगिता शेफ नेपालः द प्रोफेशनलमा परम्परागत एवं आधुनिकता दुवैलाई प्रतिनिधित्व गर्नसक्ने र प्रतियोगितामा खरो उत्रन सक्ने कुशल शेफहरुको चयन गरिने छ । यो टिभी शो सेप्टेम्बरमा छायाँकन सुरु हुने तय भएको छ, जसको प्रशारण अक्टोबर २०२५ बाट गरिनेछ ।
प्रतिस्पर्धाको लागि एकसय भन्दा बढि शेफहरुको आवेदनबाट केवल एकसय शेफहरुलाई छनोट सुचीमा राखिनेछ । हालसम्म १३ देशमा प्रोफेशनल शेफका रुपमा स्थापित ५० भन्दा बढि आवेदन संकलन भइसकेको छ ।
प्रतिक्रिया