काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चाको शुक्रबार बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयद्वारा तयार गरिएको कार्यविधिमा अन्तिम निर्णय लिन अर्को बैठकसम्म सबै सदस्यहरूलाई राय र सुझाव दिन आग्रह गरेको छ ।
‘मोर्चाको सचिवालयले तयार पारेको कार्यविधिलाई अन्तिम रूप दिन अर्को बैठकसम्म राय सुझाव दिने, र त्यसपछि कार्यविधिलाई अन्तिम रूप दिने निर्णय गरेका छौं,’ महतोले भने ।
बैठकमा आदिवासी जनजाति समुदायसँग सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
त्यस्तै, पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे पनि बैठकले गम्भीर चासो व्यक्त गरेको छ । मोर्चाले उक्त प्रकरणमा निष्पक्ष ढंगले छानबिन हुनुपर्ने माग गर्दै दोषीलाई सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने निर्णय गरेको महतोले बताए ।
प्रतिक्रिया