Logo

कर्णाली प्रदेश

हुम्लामा बस्तीबाटै योजना छनोट : चर्पीदेखि बृद्धाश्रम केन्द्रसम्म आवश्यक


३० जेष्ठ २०८२, शुक्रबार  

46
Shares

सुर्खेत । हुम्लाका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बजेट बनाउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् ।

असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी स्थानीय तहले काम गरिरहेका छन् ।

आगामी आर्थिक बर्षको योजना छनोटका लागि हुम्लाका खार्पुनाथ, सिमिकोट र ताजाकोट गाउँपालिकाले बस्तीतहबाटै योजना छनोटको प्रक्रिया सुरु गरेका हुन् ।

पालिकाका सबै वडामा बजेटको न्यायोचित वितरण र स्थानीयको मागमा आधारित योजना बनाउन बस्ती तहको आवश्यकता पहिचानमा पालिकाहरु लागेको ताजाकोट गाउँपालिका अध्यक्ष लालकेस जैसीले बताए ।

ताजाकोट गाउँपालिकाले हरेक वडाका टोल टोलमा पुगेर योजना छनोट गर्न थालेको अध्यक्ष जैसीले बताए । ‘बस्तीको आवश्यकता अनुसार योजना बनाउन टोल टोलमा योजना तर्जुम ागर्न थालिएको हो’ उनले भने, ‘यसरी योजना छनोट गर्दा मागमा आधारित योजनाहरु प्राथमिकतामा पर्ने र कार्यान्वयनका लागि पनि सहज हुन्छ ।’ गत वर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, स्थानीय बासिन्दाले दिएका सुझावका आधारमा कार्ययोजना तयार पारिएको उनले बताए ।

खार्पुनाथ गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बस्ती तहको योजना निर्माणका लागि वडाहरुलाई जनसंख्या, क्षेत्रफल, पुर्वाधार विकासको अवस्था, वडामा राजश्व संकलनको अवस्था र जनसहभागिताजस्ता सुचकहरुलाई आधार मानेर बजेट सिलिङ पठाइएको बताए ।

‘बस्तीस्तरमा योजना छनोट गर्दा स्थानीयको उल्लेख्य सहभागिता रहेको छ’ उनले भने, ‘बस्तीबाट आएका दर्जनौ योजनाहरुको प्राथमिकीकरण पनि बस्तीबाटै भएकोले योजना तर्जुमामा पनि सहज हुने छ ।’ बस्ती तहको योजना तर्जुमाले सबै वडामा समान बजेट भन्दा पनि त्यहाँको आवश्यकता अनुसार योजना निर्माणमा सहयोग पुग्ने उनले बताए ।

बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिने गरी योजना तर्जुमा गरिने उनको भनाई छ । स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुने उनको भनाइ छ ।

स्थानीय आवश्यकतामा बजेट बनाउन माग

सिमकोट गाँउपालिका वडा नं २ को ठेह वस्तीका जेष्ठ नागरिक कर्णबहादुर वोहराले गाउँमा बृद्धाश्रम केन्द्र बनाउनु पर्ने माग गरे । बस्तीस्तरको योजना तर्जुमामा आएका उनले बुढाबुढीका लागि बृद्धाश्रम बनाउनु पर्नेमा जोड दिए ।

‘सबैले आफ्ना माग राखिहाल्यौं’ उनले भने, ‘अब हामी गाउँका बुढाबुढीहरुका लागि बस्ने ठाउँ पनि त बनाउनुपर्यो ।’ बुढाबुढी अन्त कतै जान पनि नसक्ने र जाने ठाउँ पनि नभएकाले सबै भेला भएर सुख दुःखका कुरा गर्न बृद्धाश्रम केन्द्र आवश्यक भएको उनको भनाइ छ ।

सिमकोट गाँउपालिका वडा नं ३ को भेलामा सहभागी देउकली सुनारले दलित बस्तीमा एक घर एक चर्पीको योजना बनाउन माग गरिन् । उनले महिलालाई स्वरोजगार बनाउन सीप मुलक तालिमका कार्यक्रम ल्याउन पनि माग गरिन् ।

सिमकोट ३ को लिमाटाङको लामाबस्तीमा भएको योजना छनोटमा पान्मा दार्जे लामाले छ्युमाचाँ तटवन्धन निर्माण र होमस्टे व्यवस्थापनका लागि पालिकाले बजेट छुट्याउन माग गरे । खार्पुनाथ गाँउपालिका वडा नं ५ को दलित वस्ती याङचुमा आयोजना भएको बस्तीस्तरको भेलामा स्थानीयहरुले याङचु वस्ती पहिरो नियन्त्रण, रातोमुल सिचाई आयोजनादेखी टुलिङ खानेपानी योजनाको माग गरे ।

ताँजाकोट गाउँपालिकोको दलित टोल चौतारी बस्तीमा भएको बस्तीस्तरको भेलामा सवै दलित समुदायको सहभागिता थियो । समुदायबाट २१ वटा आयोजनाको माग भएपनि बस्तरीस्तरमै प्राथमिकीकरण गरिएपछि उक्त बस्तीमा एक घर एक धाराको योजना जरुरी भएको निश्कर्ष निकालियो ।

यसरी स्थानीयको सहभागितामा स्थानीय आवश्यकताअनुसारका योजनाहरु गाउँपालिकाका लागि प्राथमिकीकरणले स्थानीयको सहभागिता पनि देखिएको छ ।

स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको प्राविधिक सहयोगमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी, दिगो र प्रभावकारी कार्यान्वयनका लागी क्षमता विकास र फिल्डस्तरमा समावेशी योजना तर्जुमाका लागी प्राविधिक सहायता प्रदान भएको छ । 

हुम्लाका सिमकोट, खार्पुनाथ र ताजाकोट गाँउपालिकामा बस्तीमा समावेशी योजनाका लागी भेलाहरु सम्पन्न गरिएका छन् ।

वडा कार्यालयले वडा सदस्यहरुको संयोजकत्वमा बस्तीमा योजना छनौटका लागी योजना बनाएका छन् । वस्तीस्तरको भेलामा विभिन्न वर्ग, समुदाय, महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, वाल क्लवहरु तथा युवा क्लवहरुको सहभागीतामा योजना छनोट गरिएका छन् । वस्तीस्तरबाट आएका योजनाहरुको प्राथमिकीकरणका लागि पनि स्थानीयहरुलाई नै सहभागी गराइएको छ ।

आयोजना बैकको स्थापना

हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र ताँजाकोट गाँउपालिकाले बस्तीस्तरबाट आएका योजनाहरु वडा कार्यालय र विषगत समितिमा प्राथमिकीरणम गरी आएको आयोजनाहरुलाई स्थानीय तहको स्रोत अनुसार कार्यान्वयन गर्ने र अन्य आयोजनाहरुलाई स्थानीय तहको आयोजना बैकमा समावेश गर्ने गरी योजना बनाएका छन् ।

विगतका वर्षहरुमा वडावाट योजना छनोट गरिए पनि कहिलेकांही स्थानीय आवश्यकता पहिचान नहुँदा समस्या हुने गरेको सिमकोट गाँउपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

‘बस्तीस्तरबाट योजना आउँदा स्थानीय माग सम्बोधन भएको छ भने आवश्यकताहरु पहिचानमा सहज भएको छ’ उनले भने, ‘स्थानीय तहको स्रोतले भ्याएसम्म कार्यान्वयनमा आँउने र अन्य योजनाहरुको लेखाजोखा नहुने भएपछि योजना बैंकको अवधारणा बनाइएको हो ।’

गाउँपालिकाले बस्ती, वडा र विषयत समितिहरुवाट प्राथमिकीकरण भई आएका आयोजनाहरुलाई आयोजना बैकमा राखिने उनले बताए  । प्राथमिकताका आधारमा प्रदेश, संघ र अन्य साझेदार निकायहरुसंग समन्वय गरी आयोजना कार्यान्वयनमा ल्याईने उनको भनाई छ ।

नेपाल सरकारले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ जारी गरेको छ र सोही अनुसार स्थानीय तहको समावेशी योजना तर्जुमा, समावेशी विकासको अवधारण सहित मार्गदर्शन गरको थियो । 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १ : १८ बजे