Logo

मुख्य समाचार

मधेसमा विपद् : चालु आर्थिक वर्षमै ४२२ जनाको मृत्यु, ५६ करोड बढीको क्षति



बर्दिवास । मधेस प्रदेशमा चालु आर्थिक वर्षभरि विभिन्न प्रकृतिका विपद्का कारण ४२२ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार बाढी, डुबान, चट्याङ, आगलागी, हावाहुरी तथा हिंस्रक जनावरको आक्रमणजस्ता घटनाबाट ज्यान जाने घटनाहरू भएका हुन्।

बर्दिवासमा गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजित विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार हालसम्म २,२५८ विपद्का घटना घटेका छन्। ती घटनामा ९०० जना घाइते भएका छन् भने ५६ करोड ६७ लाख २४ हजार २१२ रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको उल्लेख गरिएको छ।

प्रदेशका आठवटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण वर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरीको आँकलन छ। यसमा ५२ हजार ३३१ घरपरिवार प्रत्यक्ष जोखिममा छन्।

कार्यक्रममा सहभागी महोत्तरी, धनुषा र सर्लाही जिल्लाका सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू उपस्थित थिए।

विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा सामाजिक संघसंस्थाहरू संलग्न भए पनि लापरवाही, अटेरीपन, र विकास योजनामा विपद् संवेदनशीलता नअपनाइने प्रवृत्तिले समस्या बढाएको सहभागीहरूको गुनासो थियो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सडक निर्माणको क्रममा ढल बन्द गरिनु, पानीको प्राकृतिक निकास अवरुद्ध हुनु, र निर्माण सामग्री जथाभावी राखिनुले डुबान तथा कटानको जोखिम बढाएको बताए। उनका अनुसार महोत्तरीका सात स्थानीय तह हरेक वर्ष वर्खासँगै कटान र डुबानको उच्च जोखिममा रहन्छन्।

कार्यक्रममा गृहमन्त्री राजकुमार लेखीले प्रदेशमा अहिलेसम्म विपद् पूर्वतयारी पर्याप्त नभएको स्वीकार गरे। यद्यपि, आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्य कार्यक्रम समावेश गरिने प्रतिबद्धता जनाए।

उनका अनुसार यस वर्ष बर्खा सुरु हुनुअघि नै जनधनको सुरक्षार्थ योजनाबद्ध तयारी थालिएको छ, र त्यसका लागि कार्ययोजना निर्माण प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ८ : ५३ बजे