काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा ‘प्रोडक्ट इनोभेसन’ विधामा गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको छ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरिका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयन प्राप्त भएका थिए। ती मध्ये ग्लोबल आइएमई बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टता प्रदर्शन गर्दै आफ्नो इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्ममार्फत सम्मान प्राप्त गरेको हो।
उक्त प्लेटफर्मले बैंकको ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्न उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ।
बैंकले यसअघि पनि लगातार तीन वर्ष इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मान पाउँदै आएको छ। सन् २०२४ मा मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत सेक्युरिटी डिपोजिट लकर र ई–कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत ‘प्रोसेस इनोभेसन’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो।
त्यस्तै, सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ‘ट्रान्सफर्मेसन एक्सलेन्स’ विधामा गोल्ड अवार्ड प्राप्त गरेको थियो।
ग्लोबल आइएमई बैंकले प्रविधिको विकास, रणनीतिक सहकार्य र ग्राहक केन्द्रित सेवाको एकीकृत र समय सापेक्ष समाधानमार्फत नेपालको बैंकिङ क्षेत्रमा अग्रणी स्थान बनाएको छ।
बैंकले नवीन प्लेटफर्महरूको उपयोग गर्दै विश्वव्यापी सञ्जाल तथा साझेदारी निर्माण गर्दै समावेशिता, पहुँच र सेवा उत्कृष्टतामा ध्यान केन्द्रित गर्दै आएको जनाएको छ।
हाल बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा समेत मान्यता प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट पनि फरकफरक विधामा सम्मानित हुँदै आएको छ।
देशको सबै ७७ वटै जिल्लामा सेवा विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसको हाल ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रहरूबाट ग्राहक सेवा प्रदान गरिरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवासँगै विदेशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सेवा सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया