Logo

कर्पोरेट

सान्भि इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज (बिहीबार)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यस चरणमा कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्कासन गरेको हो।

यसअघि आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेको छ। अब बाँकी शेयर सर्वसाधारणका लागि जारी गरिएको हो।

कम्पनीको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा सम्पूर्ण आवेदन नपरेमा निष्कासन अवधि जेठ २३ गतेसम्म लम्ब्याइने नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ। सोही संस्थाले आईपीओको बिक्री प्रबन्धकको भूमिका निर्वाह गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ११ : ४७ बजे