Logo

कर्पोरेट

सानिमा रिलायन्सद्वारा बीमालेख नवीकरणमा विलम्ब शुल्कमा शतप्रतिशत छुट



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने अभियान सुरु गरेको छ। ‘पुनर्जागरण अभियान’ नाम दिइएको योजना जेठ १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ।

कम्पनीले विभिन्न कारणले समयमै बीमाशुल्क तिर्न नसकेका ग्राहकलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको हो। बीमालेख अवधि सकिएको अवस्थामा पनि उक्त समयभित्र नवीकरण गरेमा एकपटकका लागि सम्पूर्ण विलम्ब शुल्क माफ गरिने कम्पनीले जनाएको छ।

सामान्य अवस्थामा बीमालेख नवीकरण गर्दा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था छ। तर, पुनर्जागरण अभियानअन्तर्गत बीमा नवीकरण गर्दा यो शुल्क लाग्ने छैन।

सानिमा रिलायन्सले बीमा जीवनका लागि आवश्यक सुरक्षा भएको भन्दै सबै नेपालीलाई बीमाको दायरामा ल्याउन पुनर्जागरण अभियान उपयोगी हुने विश्वास लिएको छ। कम्पनीले देशभर रहेका १६९ शाखा कार्यालय तथा अनलाइन माध्यमबाट यो सेवा लिन सकिने जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १२ : ५६ बजे