काठमाडौं । भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका आतङ्कवादी आक्रमणपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ। उक्त आक्रमणमा एक नेपाली नागरिकको पनि ज्यान गएको थियो।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा घटनाको कडा शब्दमा भर्त्सना गर्दै नेपालले कुनै पनि किसिमको आतङ्कवादविरुद्ध दृढ प्रतिबद्धता व्यक्त गरेको छ। “नेपालले पहलगाममा भएको बर्बर आतङ्कवादी आक्रमणको तुरुन्त र स्पष्ट रूपमा निन्दा गरेको थियो,” विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुश्मनीपूर्ण गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारेको छ। साथै, नेपालले क्षेत्रमा दीर्घकालीन शान्ति र स्थायित्वको पक्षमा आफू कटिबद्ध रहेको पनि जनाएको छ।
नेपाल र भारतले दुःखद घटनाको समयमा आपसी ऐक्यबद्धता व्यक्त गर्दै साझा पीडा सँगै बाँडेका थिए।

प्रतिक्रिया