काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीले व्यवसाय गर्न नदिएको आरोप लगाउँदै कवाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई आज ज्ञापनपत्र बुझाएको छ।
व्यवसायमा निरन्तर हस्तक्षेप, दमन र कुटपिट भइरहेको भन्दै समाजले व्यवसायीको पेशागत स्वतन्त्रता र ज्यानको सुरक्षाको माग गर्दै मन्त्रीसमक्ष गुनासो पेश गरेका हुन्। उनीहरूले काठमाडौं महानगर प्रहरीले विगत १८ महिनादेखि कवाड व्यवसाय सञ्चालन गर्ने व्यक्तिहरू, सङ्कलक मजदुरहरूलाई कुटपिट गर्ने, अपहरण गर्ने, संरचना भत्काउने, सामग्री जफत गर्नेजस्ता क्रियाकलाप गरेको आरोप लगाएका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा समाजका अध्यक्ष राम केवल गुप्ताले भने, “महानगर प्रहरीको कुटपिटका कारण व्यवसायीहरूको टाउको फुट्ने र अङ्गभङ्ग हुने घटनासमेत भएका छन्। खासगरी, मेयर शाहको निर्देशनमा गरिब जनतालाई सहरबाट हटाउने प्रयास भइरहेको देखिन्छ।”
समाजले मन्त्रालयसँग काठमाडौं महानगरको “गुण्डागर्दी शैलीको हस्तक्षेप” तुरुन्त रोक्न र व्यवसायीहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरू सरकारले तोकेको नियमअनुसार सम्बन्धित निकायबाट अनुमति लिएर व्यवसाय सञ्चालन गरिरहेको, कर तिर्दै आएको, उद्योगलाई कच्चा पदार्थ आपूर्ति गरिरहेको, वातावरणीय सरसफाइमा योगदान पुर्याइरहेको तथा देशको व्यापार घाटा कम गर्न भूमिका खेलिरहेको दाबी गरिएको छ।
अध्यक्ष गुप्ताका अनुसार हाल देशभर करिब एक लाख व्यक्ति प्रत्यक्ष रूपमा यस व्यवसायमा संलग्न छन्।
प्रतिक्रिया