Logo

कर्पोरेट

ग्लोबल आइएमईको एआई/एमएल ह्याकाथन सम्पन्न



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा आयोजित “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” प्रतियोगिता सम्पन्न भएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिको प्रयोगमा आधारित नवप्रवर्तनशील बैंकिङ समाधानहरू विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र प्रमुख अतिथि थिए।

ह्याकाथनमा काठमाडौं, पोखरा, महेन्द्रनगर, काभ्रे, वीरगञ्ज र धरानलगायत विभिन्न स्थानका २१ टोली सहभागी भएका थिए। प्रतियोगितामा टिम क्याल्कुलुसले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गर्दै रु. १ लाख पुरस्कार जितेको छ। दोस्रो स्थानमा डब्लुडिके टोलीले ७५ हजार, तेस्रो स्थानमा लार्के पास टोलीले ५० हजार, चौथो र पाँचौँ स्थानमा रहेका टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, उत्कृष्ट प्रस्तुति विधामा टिम डिजीविट्सलाई रु. १५ हजार को विशेष पुरस्कार प्रदान गरिएको छ। विजेता टोलीहरूलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले पुरस्कार वितरण गरेका थिए।

डेपुटी गभर्नर मिश्रले नेपालमा पहिलोपटक एआई/एमएल ह्याकाथन आयोजना गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिँदै यस्तो प्रतियोगिताले नवप्रवर्तनशील सोचलाई प्रवर्द्धन गर्ने र बैंकिङ क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले प्रतियोगिताले डिजिटल बैंकिङ क्षेत्रमा सम्भावित सेवा तथा चुनौतीहरूको समाधानमा सहयोग पुग्ने र उत्कृष्ट टोलीहरूसँग भविष्यमा सहकार्यको अवसर प्रदान गरिने जानकारी दिए।

प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो, जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन सञ्चालन गरिएको थियो। इच्छुक टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दिएका थिए।

ग्लोबल आइएमई बैंक हाल देशभर ३५४ शाखा, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। साथै, बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, यूएई लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४ समेत प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : ०१ बजे