Logo

मनोरञ्जन

तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति



काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको छ ।

अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले आज मात्रै अनुमति पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायांकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।

अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।

कम्पनीले विभिन्न प्रक्रियाहरु पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ ।

जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आइसकेका छन् । सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । फिल्मको विश्वव्यापी प्रसारण अधिकार एप्पल कम्पनीले लिएको छ ।

त्यस्तै, फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ । सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको हो । अब अन्य निकायमा अनुमति लिएर फिल्म छायांकन गर्न कम्पनीले थुप्रै कठिनाइहरु व्यहोर्नुपरेको निर्माण कम्पनीको भनाइ छ ।

मन्त्रालयको झन्झटिलो प्रक्रियालाई लिएर अन्य विदेशी कम्पनीहरुले नेपाललाई आफ्नो फिल्मको गन्तव्य बनाउनबाट हिचकिचाउन थालेका छन् । 

विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिनमात्र अनुमति प्रदान गरेकाले निर्माण टीमलाई स्थानीय तह, राष्ट्रिय निकुन्ज एवम संरक्षण क्षेत्र, जिल्ला प्रशासन कार्यालयलगायतबाट पनि अनुमति लिन थप झन्झटिलो हुने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ०८ बजे