कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्रीविहीन बनेको छ। पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि चैत १६ गते नैतिकताका आधारमा राजीनामा दिएपछि मन्त्रालयले हालसम्म नयाँ मन्त्री पाएको छैन।
वर्तमानमा उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कमलबहादुर शाहले सम्हालिरहेका छन्। उनले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले नाम सिफारिस गरेलगत्तै नयाँ मन्त्री नियुक्त हुने बताए। “छलफल जारी छ, नाम आएपछि सपथ गराइनेछ,” मुख्यमन्त्री शाहले भने।
पूर्वमन्त्री चौधरी एक अडियो रेकर्ड सार्वजनिक भएपछि विवादमा तानिएका थिए। उनले उक्त अडियो सात महिनाअघि रेकर्ड गरिएको दाबी गर्दै, आफूले कुनै अनियमितता नगरेको र केवल वनसम्बन्धी अनुभव नहुँदा छलफल मात्र गरेको बताएका छन्।
मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार मन्त्रीविहीन भए पनि नियमित प्रशासनिक कार्य भने सुचारु छ। “मन्त्रीज्यू चाँडै आउनुहुन्छ भन्ने अपेक्षा छ,” उनले भने। नीति तथा कार्यक्रम र बजेटको सिलिङ भइसकेको जानकारी दिँदै, उनले मातहतका कार्यालयलाई चाँडै बजेट उपलब्ध गराइने र योजना तर्जुमा कार्यशालाको तयारी भइरहेको जानकारी दिए।
प्रतिक्रिया