काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा स्टार्टअप वल्र्ड कप नेपाल २०२५ को ग्रान्ड फिनाले आगामी बैशाख ११ गते (अप्रिल २४) काठमाडौंमा हुने भएको छ ।
पाँचौं संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिंदै आएको छ ।
स्टार्टअप वल्र्ड कप नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरुसंग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ ।
जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्व प्रतिश्पर्धि क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ ।
यस कार्यक्रमको आयोजना स्टार्टअप हब नेपालले औद्योगिक व्यवसाय विकास संस्थान सँगको सहकार्यमा गरिरहेको छ । आईसीटी एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाल, तथा अन्य नवप्रवर्तनप्रति प्रतिबद्ध संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग र समर्थन गरेका छन् ।
वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो ।
प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वल्र्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन् ।
राष्ट्रिय विजेताले अमेरिकाको (सिलिकन भ्याली) सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा ९९ अन्य देशका विजेता, ३०० भन्दा बढी मल्टि बिलियन डलरका भेन्चर क्यापिटल कम्पनीहरू, र हजारौं स्टार्टअपहरूका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्न पाउने व्यवस्था रहेको डा. पोखरेलले बताए । यो केवल प्रतियोगिता होइन—यो त एउटा ग्लोवल लञ्चप्याड हो,’ डा. पोखरेलले भने ।
बैशाख ११ गतेको प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरुबाट छानिएका १० उत्कृष्ट स्टार्टअपहरू प्रतिस्पर्धा गर्नेछन् । र ति १० उत्कृष्टमध्येपनि अन्तराष्ट्रिय स्तरका जजहरुबाट छानिएका एक जना स्टार्टअपलाई नेपाल च्याम्पियन घोषणा गरिनेछ ।
जसले नेपाललाई प्रतिनिधित्व गर्दै ग्लोबल फिनालेमा १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछ ।
स्टार्टअप वल्र्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको फण्डरेजिङ कम्पनी पिगासस टक भेन्छरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी, र विश्व स्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।
नेपालको यस अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले देशको वैश्विक स्तरको स्टार्टअप इकोसिस्टम निर्माण गर्ने यात्रामा ऐतिहासिक उपलब्धि दर्शाउँने आयोजको विश्वास रहेको छ ।
स्टार्टअपलाई राष्ट्रिय विकासको प्रमुख आधार मान्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले हालै “स्टार्टअप नेशन २०३०” नामक महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ, जसले नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
सरकारको योजनासँग समन्वय गर्दै, स्टार्टअप वल्र्ड कप नेपाल देशको स्थानीय स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण स्तम्भको रुपमा रहेको वल्र्डकपका दक्षिण एसिया प्रमुख डा. शम्भु पोखरेलले बताए ।
नेपाली स्टार्टअपहरूलाई यस अन्तर्राष्ट्रिय अवसरमा सहभागी हुन र दर्ता गर्न प्रोत्साहित गरिएको छ ।
आवेदन दिन : swc.startuphubnepal.com
प्रतिक्रिया