काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर पहिलो पटक ललितकला मेला २०८२ सुरु गरेको छ ।
मंगलबारदेखि नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर प्रतिष्ठानमा पहिलो पटक ‘ललितकला मेला– २०८२’ सुरु गरिएको हो ।
मेलाको उद्घाटन पछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समाजलाई जगाउने र ब्यूँझाउने काममा कलाकारिताको प्रमुख भूमिका रहने बताए । स्वार्थलाई जब मानिसले केन्द्रविन्दुमा राख्न थाल्छ तब सत्यको भन्दा असत्यको पक्षमा लाग्न थाल्ने पनि धारणा राखे ।
उनले भने,‘मानव स्वभाविक रुपमा सत्यको पक्षमा रहन्छ । न्यायको पक्षमा रहन्छ । सत्य र न्यायलाई मानिसले त्यो अवस्थामा छोड्दो रहेछ । आफ्नो स्वार्थलाई मानिसले केन्द्रविन्दुमा राख्न थाल्छ । आफ्नो स्वार्थको लागि सत्यको भन्दा असत्यको पक्षमा लाग्दा स्वार्थपूर्ति हुन्छ भनेर स्वार्थको पत्रले छोपिएर अन्यायको पक्षमा पनि लाग्दो रहेछन् । त्यसैले सही ठाउँमा हिड्नको लागि पनि कलाकारिताले प्रेरणा दिन्छ । समाजलाई जगाउने र ब्यूँझाउने काम पनि कलाकारिताको हो ।’
उनले संस्कृति र भौतिक रुपमा पनि संरचनाहरुको जर्गेना गरेर पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने धारणा राखे ।
विभिन्न माध्यमहरूमा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गर्न लागेको कुलपति नारदमणि हार्थम्छालीले जानकारी दिए ।
नेपालमा प्रचलित ललितकलाका सबै विधालाई समेटेर हुने मेलामा विद्यार्थी, बुद्धिजीवी, अर्थशास्त्री, राजनीतिज्ञ, जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिकर्मीलगायतसँगै स्वदेशी तथा विदेशी कला अनुरागीहरूको समेत उपस्थिति रहने छ । आयोजकका अनुसार ५० भन्दा बढी स्टल रहेको मेलामा रहेको छन् भने मेला वैशाख ६ गतेसम्म चल्ने छ ।
नेपाली ललितकलाका विविध विधा समेटिएको यो मेला वैशाख २ गतेदेखि ६ गतेसम्म नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुनेछ ।
हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलामा विभिन्न संस्था, व्यक्तित्व तथा व्यवसायीहरूको ४० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया