Logo

राजनीति

मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता


२९ चैत्र २०८१, शुक्रबार  

69
Shares

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्र भइरहेको बताउनुभएको छ ।

नेकपा एमाले वीरगञ्ज महानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले राजावादीको नाममा काठमाडौंमा चैत १५ गते गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान खोजिएको र त्यसका लागि अनेक खालका षडयन्त्रहरु भइरहेको बताउनुभएको हो ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल मिलेर सत्ता सञ्चालन गरिरहेको बताउनुभयो । यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लगेको उहाँको भनाइ छ । मुलुकलाई अस्थिरतामा लैजान जति नै प्रयास गरे पनि त्यो सफल हुन नदिइने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेकपा एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने चर्चा गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गर्नुभयो । ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढङ्गले उठाउन सकिँदैन,’ उहाँले भन्नुभयो । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्ने उहाँको भनाइ छ ।

अहिलेको राजनीतिक समीकरण मिशन ०८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्नुहुँदै उहाँले एमाले कुनै मोर्चाको पक्षमा नरहेको पनि स्पष्ट गर्नुभयो । आगामी निर्वाचनमा वीरगञ्ज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ०७ बजे