Logo

समाचार

राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती



रौतहट । रौतहटको राजपुर नगरपालिकामा भएको आगलागीमा साढे १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

राजपुर नगरपालिका–६ बस्ने प्रमोद साह कलवारको मोटरसाइकल वर्कशप, सोही नगरपालिका ५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र बसको टिकट काउन्टरमा बुधबार राति आगोलागी भएको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार मन्जर आलमले सञ्चालन गरेको बस टिकट काउन्टरमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । टिकट काउन्टरमा रहेको कुर्सी, टेवल तथा कागजपत्र जलेर नष्ट भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल वर्कसपमा क्षती पुगेको छ ।

आगलागीबाट वर्कसपमा रहेका टायर, मोबिल, हावाभर्ने टंकीलगायत १० लाख बराबरको क्षति पुगेको उनको भनाइ छ । नजिककै रहेको पान पसलमा समेत आगोलागी हुँदा एक लाख बराबरको क्षती भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ प्रहरी टोलि घटना स्थलमा पुगेको  थियोे । सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ५ : ०२ बजे