Logo

मुख्य समाचार

भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब



काठमाडौं । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ ।

यसअघि युट्युबले भिडियोको भ्युज कसरी गणना गर्छ भन्ने स्पष्ट रूपमा सार्वजनिक नगरे पनि सामान्यतया प्रयोगकर्ताले कम्तीमा ३० सेकेन्ड भिडियो हेरेपछि त्यसलाई एक भ्युजका रूपमा गणना गर्ने गरिएको बुझाइ थियो ।

युट्युबले यसअघि नै ‘शट्र्स’ भिडियोमा नयाँ भ्युज गणना प्रणाली लागू गरिसकेको थियो । अब भने प्लेटफर्मका विभिन्न फम्र्याटमा प्रयोग हुँदै आएका फरक–फरक भ्युज गणना प्रणालीलाई एकरूप बनाउन नयाँ व्यवस्था ल्याउन लागेको हो ।

युट्युबले आफ्नो कम्युनिटी पोस्टमा क्रिएटरहरूले आफ्नो भिडियोको वास्तविक पहुँच बुझ्न सहज होस् भन्ने उद्देश्यले यो परिवर्तन गरिएको जनाएको छ । कम्पनीका अनुसार यसअघि प्रयोग हुँदै आएको भ्युज मेट्रिकलाई अब ‘इन्गेज्ड भ्युज’ नाम दिइनेछ ।

यो पुरानो मेट्रिक भने क्रिएटरहरूले युट्युब एनालिटिक्समार्फत हेर्न सक्नेछन् । यसबाट आफ्ना भिडियो हेर्ने दर्शकमध्ये कति जनाले भिडियो हेर्न निरन्तरता दिए भन्ने जानकारी प्राप्त गर्न सकिनेछ । युट्युबका अनुसार नयाँ भ्युज गणना प्रणालीले क्रिएटरको आम्दानीमा कुनै असर पार्ने छैन । साथै, युट्युब पार्टनर प्रोग्राममार्फत मोनेटाइजेसनका लागि योग्य हुने प्रक्रियामा पनि परिवर्तन नहुने कम्पनीले स्पष्ट पारेको छ ।

यो परिवर्तन युट्युबले क्रिएटर केन्द्रित अर्को महत्वपूर्ण नीति परिवर्तन घोषणा गरेको करिब एक सातापछि आउन लागेको हो । कम्पनीले आगामी वर्षदेखि विज्ञापन तथा सब्स्क्रिप्सनबाट आम्दानी सुरु गर्न नयाँ क्रिएटरहरूले पूरा गर्नुपर्ने मापदण्ड थप कडा बनाउने घोषणा गरिसकेको छ । एएनआई

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ३ : १७ बजे