Logo

विशेष

‘ग्वलः दे’ को मौलिक स्वरुप पुनरुत्थान : मठा फल्चाको शिलान्यास



काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गरिएको छ ।

‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गरिरहेको बताउँदै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, सांस्कृतिक सहरको गरिमा बचाउने प्रयास भएको स्पष्ट परो ।

नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गर्दै उनले भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए ।

मठा फल्चा जयबागेश्वरी धुनी मठको सामुन्ने छ । यी दुई संरचनाको विचमा भैरव स्वरुपमा पूजा गरिने शिला छ । यस टोलबाट सञ्चालन गरिने बछलेश्वरी, पिंगलास्थान, बनकाली, भुवनेश्वरी जस्ता जात्रामा भैरव अगाडि आएर रथ रोक्ने र पूजा अर्चना गर्ने प्रचलन छ । श्रद्धाको यस क्रममा पूजा सामग्री राख्न फल्चा निर्माण भएको हुन सक्ने वडाध्यक्ष संगतको भनाइ छ ।

‘धुनी मठ नेपाल संवत् ९०१ मा निर्माण भएको शिलालेख छ । फल्चा पनि यससँगै निर्माण भएको हो,’ संगतले जानकारी दिए ।

फल्चा एक तलाको २ पाखे शैलीको हुनेछ । १९९० सालको भूकम्पबाट जीर्ण भएको फल्चा क्रमशः भत्किँदै गयो । तर, पुननिर्माण भएन । जस्ताले घेरेर राखिएको फल्चा अहिले उपभोक्तामार्फत पुनःनिर्माण हुन थालेको हो ।

२०७९ यता सांस्कृतिक सम्पदा संरक्षणअन्तर्गत वडा कार्यालयले फल्चा पुनःनिर्माण, सांस्कृतिक क्रियाकलाप सञ्चालन हुने गरेको अतिक्रमित जग्गाको स्वामित्व फिर्ता, त्यस ठाउँमा भएका प्राचीन सम्पदा पुनरुत्थान गरिरहेको छ ।

इना गणेश मन्दिर, इटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् । सानासाना धार्मिक संरचनाहरुमा पिङ्गलास्थान द्यःसहितका संरचना पुनःनिर्माण भइसकेका छन् ।

हराएकै एकसय वर्षभन्दा धेरै समय वितेको ब्रह्मा मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । यो गायत्री मार्गमा छ । वडाले गुह्येश्वरी मन्दिरको प्रवेश द्वारको कलात्मकता जोगाएर पुनःनिर्माण गरेको छ । पिङ्गला स्थान र तिलगंगामा द्वार निर्माण गरेको छ ।

डवलीहरुमा नवाली टोलको नवाली डवली र पशुपति भुवनेश्वरी अगाडिको बज्रेश्वरी डवली पुनःनिर्माण गरिसकेको छ । सिफल सेतो ढोकादेखि जयबागेश्वरीसम्म ढुङ्गा विछ्याएको छ । यो कार्यलाई वडा भवनदेखि पशुपति क्षेत्रसम्म पु¥याउने योजना छ । वडाध्यक्ष संगतका अनुसार यस क्षेत्रमा रहेका घरहरुको बाहिरी मोडडालाई मौलिक परम्परागत बनाउने कार्यको प्रक्रिया थालिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ३ : ०८ बजे