Logo

समाचार

हर्क साम्पाङको व्यङ्ग्यः ‘मेलम्चीको पानी नआए पनि श्रमदान गरेर ल्याउँछु’



काठमाडौँ  । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ र प्रधानमन्त्री  केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्  ।

उनले भने,‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।’

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै साम्पाङले आफूले धरानको खानेपानीको समस्या राखेको र समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराए ।

उनले मेलम्चीमा नै पानी नआएकोमा व्यङ्गय गर्दै भने, ‘मेलम्चीको कुरामा पनि म एकदिन श्रमदान गर्न आउँछु, सोचिरहेको छु । मैले श्रमदान गरेपनि म ल्याउँछु फेरी,म चाँही त्यस्तो हो । गर्छु भनेपछि गर्छु । कोशिस गर्दा गर्दै ज्यान गएपनि जाओस् ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ०८ बजे