पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिका–२ लमरियामा सडक र नालाको शिलान्यास गर्नुभएको छ ।
आइतबार विशेष कार्यक्रममार्फत उहाँले १३२ मिटर सडक र १०७ मिटर नाला शिलान्यास गर्नुभएको हो । भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट पोखरिया नगरपालिकाको वडा नं. २ मा सडक र नाला निर्माण गर्न लागिएको हो ।
सो अवसरमा मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सीमान्तकृत समुदायको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम लागू गरेको जानकारी दिनुभयो । सो सडक र नाला निर्माणका लागि मन्त्री गुप्ताको पहलमा भौतिक पूर्वधार विकास मन्त्रालयले सो बजेट विनियोजन गरेको थियो ।
सडक र नालाको का इमान्दारिताका साथ सम्पन्न गरे आगामी आर्थिक वर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ । ‘इमान्दारिताका साथ काम गर्नुभयो भने अर्को वर्ष थप बजेट उपलब्ध गराउने छु, तर तलमाथि भए फेरि आशा नगर्नु होला,’ मन्त्री गुप्ताले भन्नुभयो ।
कुनै पनि सरकारले तराई मधेशलाई हेरेन भन्ने जनगुनासोको सम्बोधन गर्दै यो पटक सरकारको धेरै ध्यान तराई मधेशतर्फ रहेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहिल्यै तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने थियो । तर, सरकारले पहिलो पटक तराई मधेशका जनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ, यो निरन्तर रहनेछ ।’ तराई मधेश क्षेत्रमा व्यापक विकासको लहर चलाउने आफ्नो योजना रहेको बताउनुहुँदै उहाँले जनताको साथ रहे त्यो कुरा सम्भव रहेको चर्चा गर्नुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले नागरिकरू सबैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धि आउन समय नलाग्ने बताउनुहुँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै स्थानीय तहहरूमा कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी पनि दिनुभएको छ । जनताको कामलाई सहज बनाउन मन्त्रालयले दिनरात खटेर काम गरिरहेको र कर्मचारी व्यवस्थान चाँडै हुने बताउनुभयो ।
प्रतिक्रिया